जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, यसअघि वैशाख मसान्तसम्म सीमित भनिएको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ अझै केही समय जारी रहनेछ।
उनका अनुसार सो अभियानले पार्टीमा नयाँ जोश, ऊर्जा र संगठनात्मक गति थपेको छ। हालसम्म अधिकांश वडा, पालिका र जिल्ला तहका समिति तथा भ्रातृसंगठनहरूको अधिवेशन सम्पन्न भइसकेको छ। तर, अझै कतिपय स्थानीय तह, राष्ट्रिय समिति तथा प्रदेश समितिको अधिवेशन बाँकी रहेकाले अभियानलाई लम्ब्याउने निर्णय गरिएको हो।
अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम, अन्तरक्रिया, प्रशिक्षण, संगठनात्मक भेला, तथा सदस्यता नवीकरण र वितरणका कार्यक्रमहरू सञ्चालन गरिएको बस्नेतले जानकारी दिएका छन्।
पार्टीले गत भदौ महिनादेखि सबै केन्द्रीय समिति सदस्यहरूलाई नगर तथा गाउँपालिकामा खटाएर संगठन विस्तारको जिम्मेवारी दिएको थियो। त्यस्तै, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई अनुगमनको जिम्मेवारी दिइ अभियान सञ्चालन गरिएको हो।
अब अभियानको आगामी चरण र कार्ययोजना सम्बन्धमा पार्टीको औपचारिक बैठकबाट निर्णय लिइने बताइएको छ।
Leave a Reply