काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् ।
सगरमाथा संवादको अवसरमा राजधानीमा भएको उक्त भेटमा नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध, वातावरणीय सहकार्य र प्रविधि हस्तान्तरणबारे छलफल गरिएको थियो ।
मन्त्री शाहीले नेपाल र कतारबीच दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने धारणा राख्दै प्रदूषण नियन्त्रण, वन संरक्षण, नवप्रवर्तन तथा वातावरणमैत्री प्रविधिमा सहकार्यको ढोका खोल्ने प्रस्ताव राखेका थिए ।
भेटका क्रममा मन्त्री शाहीले कतार सरकारलाई नेपालबाट एक जोडी हात्ती उपहारस्वरुप प्रदान गर्ने तयारीमा रहेको जनाउँदै यससम्बन्धी प्रक्रिया अगाडि बढाउन एक महिनाभित्र पत्राचार गरिने जानकारी पनि दिए ।
विशेष दूत दफाले मन्त्री शाहीको प्रस्तावप्रति आभार व्यक्त गर्दै सहकार्यका सम्भावित क्षेत्रहरूमा चाँडै नै कार्यान्वयनको खाका तयार पार्ने प्रतिबद्धता जनाएका थिए ।
Leave a Reply