चट्याङ लाग्दा रूखमा आगो, सशस्त्र प्रहरीको टोलीले निभायो

काभ्रे — काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० स्थित बाँसटौवा भित्री सडक नजिकको जंगलमा शुक्रबार साँझ चट्याङ पर्दा एक सिंगो रूखमा आगो लागेको छ।

चट्याङले क्षणभरमै रूखमा आगो सल्किएपछि आगो वरपरको जंगल र वस्तीमा फैलिन सक्ने सम्भावना देखिएको थियो। स्थिति गम्भीर हुन नदिन सशस्त्र प्रहरीको १५ नम्बर गण काभ्रेबाट डिएसपी शैलेन्द्र थापाको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरी टोलीले तत्काल आगो नियन्त्रणमा लिएको र रूखलाई काटेर सुरक्षित रूपमा हटाइएको जानकारी दिएको छ।
सौभाग्यवश, आगोले अन्य स्थानमा क्षति पुर्‍याएको छैन। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सूचनात्मक सतर्कताले सम्भावित ठूलो क्षति टारेको हो।