पूर्वप्रधानमन्त्री झलनाथ खनालले साना-साना पार्टी बनाएर पृथक राजनैतिक पहिचान देखाउने अभ्यासको कडा आलोचना गरेका छन्। शनिबार आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वहारा श्रमिक वर्गको एउटै एकीकृत पार्टी नबनाएसम्म नेपालमा क्रान्तिको सम्भावना नरहेको बताए।
खनालले अहिले कम्युनिस्ट आन्दोलनभित्र गहिरो अन्तरविरोध देखा परेको उल्लेख गर्दै, ती अन्तरविरोध चिर्नका लागि सही राजनीतिक कार्यदिशा, सिद्धान्त र नीति आवश्यक भएको स्पष्ट पारे। उनका अनुसार वर्तमान अवस्थामा ‘बुकुरो पार्टी’ बनाउने र सानो-सानो कसौँडीमा ‘दाल पकाउने’ जस्तो राजनीतिले मुलुकलाई दिशाहीन बनाएको छ।
उनले थपे, “यो बिखण्डनकारी अभ्यासलाई तोड्नु पर्दछ। जबसम्म सबै कम्युनिस्ट शक्ति एकीकृत हुँदैनन्, तबसम्म समाजवादी क्रान्ति सम्भव छैन।”
खनालले कम्युनिस्ट आन्दोलनभित्र देखा परेका दक्षिणपन्थी अवसरवादी सोचलाई परास्त गर्दै क्रान्तिकारी कार्यदिशाका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले मदन भण्डारीको योगदानको समीक्षा पनि निडरताका साथ गर्नुपर्ने धारणा राखे।
उनको विचारमा, देशको रुपान्तरणका लागि अब कुनै नयाँ सैद्धान्तिक प्रयोगको होइन, सही दिशा र एकताबद्ध प्रयत्नको आवश्यकता छ।
Leave a Reply