डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनताको मतबाट सत्तामा पुगेको बताएका छन्।
शुक्रबारदेखि सुरु भएको ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’ अन्तर्गत डोटीमा आयोजित जनसभामा बोल्दै अध्यक्ष दाहालले कुनै राजनीतिक गठबन्धन वा सौदाबाजीबाट नभई, जनताकै बलमा माओवादी सत्तामा पुगेको स्पष्ट पारे।
उनले भने, “हामीलाई तपाईं हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग र समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन्।”
अध्यक्ष दाहालले आत्मालोचना गर्दै माओवादी फेरि जनताको घर आँगनमा फर्किएको बताए। “जनताको पीडा बुझ्न, गुनासो सुन्न र सम्बोधन गर्न हामी फेरि जनताकोबीचमा आएका हौं,” उनले जनसम्बोधनमा भने।
दाहालले आन्दोलन, संक्रमण र सत्तासम्मको यात्रामा जनताको बलिदानको चर्चा गर्दै अबका दिनमा माओवादीको मुख्य उद्देश्य जनताका बुनियादी समस्याको समाधान हुने बताए।
Leave a Reply