धरहराबाट ६ महिनामा तीन करोड ७३ लाख रुपैयाँ आम्दानी

काठमाडौं । राजधानीको ऐतिहासिक धरहराबाट वैशाख मसान्तसम्मको अवधिमा तीन करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईका अनुसार, मङ्सिर ९ गतेदेखि सुरु गरिएको सशुल्क प्रवेश प्रणालीमार्फत यो रकम संकलन गरिएको हो।

राईले रातोपाटीसँग कुरा गर्दै बताए, “हालसम्म २ लाख ४ हजार नागरिकले धरहरा अवलोकन गरेका छन्। अहिले धरहरा प्रवेश शुल्क लिइरहेका छौं, पार्किङ भने निःशुल्क छ। तर छिट्टै पार्किङमा पनि शुल्क लाग्ने व्यवस्था गर्दैछौं।”

सरकारले नेपाली नागरिकका लागि धरहरा चढ्न २०० रुपैयाँ शुल्क तोकेको छ। त्यस्तै, विद्यार्थी, अपांगता भएका व्यक्ति र वरिष्ठ नागरिकहरूलाई ५० प्रतिशत छुट दिइएको छ। विदेशी पर्यटकका लागि भने शुल्क दुई तहमा निर्धारण गरिएको छ— सार्क राष्ट्रका लागि ५०० रुपैयाँ र अन्य मुलुकका लागि १००० रुपैयाँ प्रति व्यक्ति।

धरहराको यो आम्दानीले ऐतिहासिक स्थल संरक्षण, प्रवर्द्धन र संचालनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।