परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सहयोगमा जोड

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेट सगरमाथा संवाद कार्यक्रममा सहभागिताका सन्दर्भमा आयोजित गरिएको थियो।

भेटका क्रममा मन्त्री डा. राणाले सगरमाथा संवादमा सहभागी भई नेपालमा जलवायु सम्बन्धी महत्वपूर्ण विषयमा चासो देखाएकोप्रति उपमन्त्री अकिकोप्रति आभार व्यक्त गरिन्। साथै, सिन्धुली–बर्दिवास सडकखण्डको पुनर्निर्माण तथा मर्मतका लागि जापान सरकारले दिएको सहयोगप्रति पनि धन्यवाद दिइएको छ।

उक्त सडकखण्डमा अघिल्लो वर्ष आएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेको थियो। नेपाल सरकारले पुनर्निर्माणका लागि सहयोगको अनुरोध गरेपछि जापान सरकारले अनुदानस्वरूप सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

भेटमा दुई देशबीचको दीर्घकालीन मित्रता, आर्थिक तथा सामाजिक क्षेत्रमा जापानले पुर्याउँदै आएको योगदान, र भविष्यका सम्भावित साझेदारीबारे समेत छलफल भएको थियो। मन्त्री डा. राणाले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको जलवायु न्यायको पक्षमा समर्थन जनाउन र थप सहयोग गर्न जापानलाई आग्रह गरेकी थिइन्।