दमक – दमक नगरपालिका-५ निवासी तथा पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ। उनी लामो समयदेखि मुटु र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए।
बुढाथोकी विसं २०४९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट दमक नगर प्रमुखमा निर्वाचित भएका थिए। पछिल्लो समय उनी एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका थिए र सो पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही समय सार्वजनिक रूपमा राखिने र आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
पूर्वनगर प्रमुख बुढाथोकीप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले गहिरो दुःख व्यक्त गरेकी छन्। उपप्रमुख प्रसाईंका अनुसार स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा तथा नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहनेछ।
Leave a Reply