सगरमाथा संवादमा इलामे चियाको स्वाद

काठमाडौँ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपालमा रहेका विदेशी नियोग प्रमुख, विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्था तथा राजदूतहरूलाई लक्षित गर्दै पूर्वी नेपालको इलामस्थित श्रीअन्तुमा विशेष रिट्रिट कार्यक्रम आयोजना गर्‍यो।

श्रीअन्तुको चिया बगानदेखि सूर्योदय हेर्ने डाँडासम्म विदेशी पाहुनाहरूको उपस्थिति र सहभागिता उल्लेखनीय रह्यो। बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनसहित १५ देशका राजदूत एवं प्रतिनिधिहरू चिया टिप्ने प्रतियोगिता, टि टेस्टिङ र स्थानीय संस्कृतिको अनुभव लिन पुगेका थिए।

कार्यक्रममा सहभागीहरूले इलामको ताजा चिया चाख्दै नेपाली चियाको प्राकृतिक स्वाद र गुणस्तरको प्रशंसा गरे। मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा भएको भ्रमणमा सहभागीहरू स्थानीय पोशाकमा तस्बिर खिचाउँदै, घोडचढी गर्दै र अन्तु डाँडाबाट सूर्योदय हेरेर रमाएका थिए।

यसपटकको रिट्रिट कार्यक्रम सगरमाथा संवादसँग पनि जोडिएको छ। मन्त्री डा. राणाले संवादस्थल होटल सोल्टीमै चिया प्रदर्शनी कक्ष राख्न निर्देशन दिएकी थिइन्, जसअनुसार सूर्योदय नगरपालिकाको समन्वयमा इलामको ‘टि स्टेशन इन्क’ द्वारा चिया प्रदर्शनी सञ्चालन गरियो।

प्रदर्शनीमा सहभागीहरूलाई ताजा र विविध स्वादका चिया चाख्ने अवसर दिइयो। टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानका अनुसार, विदेशी पाहुनाहरूले नेपाली चियाको गुणस्तर अनुभव गरेर त्यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका थिए।

नेपाल पर्यटन बोर्डले उक्त प्रदर्शनीको सहजीकरण मात्र नभई विदेशी पाहुनाहरूलाई इलामको अर्ग्यानिक चिया उपहारस्वरूप वितरणसमेत गरेको थियो। प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले यस्तो अन्तरक्रियाले नेपालको चिया ब्रान्डलाई विश्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

सगरमाथा संवादमार्फत चियाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्य राखिएको यो प्रयासलाई सरकारी तथा स्थानीय तहले संयुक्त रूपमा अघि बढाएको देखिन्छ।