चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना

काठमाडौं । देशमा सक्रिय विभिन्न वायुगत प्रणालीको असरले आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ।

यस मौसम प्रणालीको कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेछ। पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ भने लुम्लेमा १३ मिलिमिटर, इलामको जितपुरमा २० मिलिमिटर र मकवानपुरको दामनमा १२.८ मिलिमिटर वर्षा भएको छ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यिनै प्रदेशका थोरै स्थानहरूमा र अन्य ठाउँका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै उच्च पहाडी तथा हिमाली भेगमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ।

त्यसैगरी मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

रातको समयमा पनि मौसममा विशेष परिवर्तन नआउने बताइएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

राति पनि ती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भेगका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ। साथै, तराईका केही भूभागमा हावाहुरीको जोखिम पनि कायमै रहेको जनाइएको छ।