काभ्रेको करेन्ट घटनामा सांसदहरूको आक्रोश, छानबिन र कारबाहीको माग

काभ्रेको धुलिखेलमा शनिबार विद्युत् पोलमा काम गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय मजदुर उपेश परियारको मृत्यु भएको घटनाले प्रतिनिधिसभामा गम्भीर प्रतिक्रिया ल्याएको छ। आइतबारको विशेष समयमा विभिन्न दलका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद सूर्यमान तामाङ दोङ र रणेन्द्र बरालीले नेपाल विद्युत् प्राधिकरणको लापरबाही नै घटनाको कारण भएको आरोप लगाए। तामाङले सटडाउन सूचना दिइसकेपछि पनि लाइन पुनः सुरु गरेर मजदुरलाई पोलमा चढ्न लगाइएको बताए।

बरालीले भने, “विद्युत् बन्दको सार्वजनिक सूचना दिएर कामदार पठाइयो तर फेरि लाइन प्रवाह गरियो, यो लापरबाही हैन, अपराध हो।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पनि सुरक्षा मापदण्ड पालना नगरी श्रमिकलाई खटाइएको भन्दै घटनाको निन्दा गरे। “सूचना नदिई लाइन चार्ज गरिएको हो भने यो लापरबाहीको हद पार गरेको घटना हो,” उनले भने।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अझै कडा टिप्पणी गरे। “यो दुर्घटना हैन, हत्या हो,” भन्दै उनले राज्यले नागरिकको ज्यानसँग खेलबाड गरिरहेको गम्भीर आरोप लगाए। “ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्छ,” उनले जोड दिए।

शुक्रबार बिहान ११:३० बजे धुलिखेल नगरपालिका–७, जिल्ला प्रशासन कार्यालय अगाडिको पोलमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा काम गर्दै गर्दा उपेश परियारलाई अचानक करेन्ट लागेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमै उनको मृत्यु भएको हो।

घटनाले सुरक्षा मापदण्ड, श्रमिक सुरक्षाको प्रत्याभूति र प्राधिकरणको जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।