हुरीले चितवनमा केराखेतीमा २० प्रतिशत क्षति

चितवन, जेठ ५ – गत साता आएको हुरी र वर्षाका कारण चितवन जिल्लाको केराखेतीमा झण्डै २० प्रतिशत क्षति पुगेको छ। केराखेतीमा सक्रिय रहेका किसानहरू अहिले उत्पादनमै नोक्सानी बेहोर्न बाध्य भएका छन्।

केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोका अनुसार, विशेषगरी पूर्वी चितवनका कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर, र रत्ननगर क्षेत्रका बगानहरूमा बुधबार र बिहीबार परेको हुरीले १५ देखि २० प्रतिशत क्षति पुर्‍याएको हो।

त्यसैगरी, शुक्रबारको हुरीले भरतपुर महानगरपालिका–२३ र २६ मा पनि व्यापक क्षति पुगेको छ। भरतपुरको ठिमुरा क्षेत्र पनि हुरीको असरबाट अछुतो रहेन। कालिका नगरपालिकाका एक किसान माधव घिमिरे भन्छन्, “ठ्याक्कै फल लिने बेला यस्तो हुरी आयो। हामी त घाटामै गयौं।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी रविकीरण अधिकारीले अहिले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन्। जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातका केरा उत्पादन हुँदै आएका छन्।

चितवनमा हाल तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा सात सयभन्दा बढी किसानले केराखेती गर्दै आएका छन्।