काठमाडौँ — वैशाख ३१ गते काठमाडौँ महानगरपालिका–२४, मखनटोलमा भएको आगलागी घटनाको छानबिन प्रक्रिया तीव्र बनाउँदै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छिन्।
उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्। उनका अनुसार, उक्त आगलागीमा चार घरमा क्षति पुगेको थियो भने एक जनाको घटनास्थलमै ज्यान गएको थियो।
आगलागीमा दयाराम श्रेष्ठको घर पूर्णरुपमा जलेको थियो भने छेउको रुकेश श्रेष्ठको पाँच तले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा समेत गम्भीर क्षति पुगेको थियो।
घटनाको लगत्तै डंगोल आफैँ स्थलगत अनुगमनमा गएकी थिइन्। उनले दमकल स्टेसन नजिकै भएको आगलागीमा पनि समयमै नियन्त्रण प्रयास नभएकोबारे आएका गुनासोलाई गम्भीरतासाथ लिएको जनाउँदै भनिन्, “यी सबै प्रश्नहरूको जवाफ पत्ता लगाउन तुरुन्तै छानबिन समिति गठन गर्न र १० दिनभित्र प्रतिवेदन बुझाउन मैले निर्देशन दिएकी छु।”
Leave a Reply