भैरहवा विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा अध्ययन गर्न गठित उपसमितिको संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद मन्जु खाण चयन भएकी छन्।

यसअघि उपसमिति संयोजक नेकपा (एमाले)का सांसद योगेश भट्टराई थिए। तर, उनले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू उपसमितिको संयोजकका रूपमा नरहने घोषणा गरेका थिए।

सांसद भट्टराई पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भएकाले उपसमितिको निष्पक्षता माथि प्रश्न उठेको थियो। रास्वपा सांसद मनीष झाले समितिको बैठकमा भट्टराईकै संयोजकत्वमा तयार पारिने प्रतिवेदन निष्पक्ष नहुने शंका व्यक्त गरेपछि भट्टराईले संयोजक पद छाड्ने निर्णय गरेका थिए।

नयाँ संयोजकको चयनका लागि बसेको आइतबारको उपसमिति बैठकमा मन्जु खाणको नाम सर्वसम्मत रूपमा पारित गरिएको हो। सो बैठकमा एमाले सांसद भट्टराई र रास्वपाका सांसद झा भने अनुपस्थित रहे।

साथै, उपसमितिको आइतबारकै बैठकले भैरहवा विमानस्थलको स्थलगत अध्ययन भ्रमण गर्ने निर्णयसमेत गरेको छ।