काठमाडौं — नेपाल राष्ट्र बैंकले गत वर्ष असार १२ गते परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो। तर करिब एक वर्ष पुग्न लाग्दा पनि धितोपत्र बोर्डले आवश्यक नियम नबनाउँदा यस्तो सेयर बजारमा ल्याउन अझै सम्भव भएको छैन।
बैंकहरूलाई पूँजी कोष मजबुत बनाउन सहयोगी मानिएको यो सेयरको तयारी नबिल बैंक, एनआइसी एसिया, एनएमबी बैंक र कामना सेवा विकासजस्ता संस्थाहरूले गरिरहेका छन्। तर नियमावली नै नभएका कारण ती संस्थाहरूले सेयर ल्याउन सकेका छैनन्।
अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई अंग्रेजीमा perpetual non-cumulative preference share भनिन्छ। यसको अर्थ यस्तो सेयरको कुनै परिपक्व अवधि हुँदैन र कुनै वर्ष लाभांश बाँड्न नपाएमा त्यो लाभांश अन्य वर्षमा अनिवार्य रूपमा तिर्नुपर्ने हुँदैन।
अग्राधिकारको अर्थ भनेको अन्य सेयरधनीको भन्दा पहिले लाभांश पाउने अधिकार हो। बैंकहरूले लाभांश बाँड्दा सबैभन्दा पहिले अग्राधिकार सेयरधनीलाई बाँड्नुपर्छ र त्यसपछि मात्रै अन्यलाई बाँडिन्छ।
राष्ट्र बैंकले यस्तो सेयरको सम्बन्धमा १२ बुँदे मापदण्डसमेत तयार गरिसकेको छ। ती मापदण्डअनुसार कुनै बैंकको जोखिमसम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा झरेको अवस्थामा उक्त सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तो सेयरमा संस्थागत लगानीकर्ताहरूले मात्रै लगानी गर्न पाउने छन्। लाभांश पनि चालु आर्थिक वर्षको नाफाबाट मात्र वितरण गर्न पाइने छ। सञ्चित मुनाफा वा अन्य कोष प्रयोग गर्न नपाइने प्रावधान छ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, हालै मात्रै यस्तो सेयरको अध्ययन गर्न आन्तरिक समिति गठन गरिएको छ। तर समितिले कहिलेसम्म प्रतिवेदन बुझाउने भन्नेबारे समय तोकिएको छैन।
एक वर्ष बित्न लाग्दासमेत आवश्यक नीतिगत ढाँचा तयार नहुनु नियामक संयन्त्रमा रहेको ढिलाइको स्पष्ट संकेत हो। यसले बैंक तथा वित्तीय संस्थाहरूको पूँजी संकलनको विकल्पलाई अवरुद्ध बनाइरहेको छ।
Leave a Reply