भक्तपुरमा बाल क्यान्सर उपचारका लागि विशेष वार्ड स्थापना

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (ICU) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बालबालिकामा क्यान्सरका बिरामीहरू बढ्दै गए पनि छुट्टै वार्डको अभावले उपचारमा समस्या हुँदै आएको थियो।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेका अनुसार, नयाँ वार्डमा चार शय्याको ICU, सात शय्याको डे केयर कक्ष र अन्य वार्डसहित कुल १५ शय्याको सुविधा तयार गरिएको छ। उनका अनुसार, अस्पतालमा दैनिक झण्डै १,००० जना बिरामी ओपिडी सेवा लिन आउने गरेका छन् र १३० शय्याको अस्पतालमा आधा घण्टाका लागि पनि बेड खाली नहुने अवस्था रहेको छ।

अस्पतालले एक महिनादेखि १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्करूपमा प्रदान गर्दै आएको जानकारी दिँदै तजलेले गत वर्ष मात्रै १५० जना बालबालिकाको क्यान्सर उपचार गरिएको बताए। यो निःशुल्क सेवामा केमोथेरापीसहित औषधिहरू पनि समावेश छन्।

बालरोग विशेषज्ञ डा. रितु लामिछानेका अनुसार हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका क्यान्सरको उपचारका लागि ओपिडी सेवा लिइरहेका छन्। उनले बाल क्यान्सरको केस लगातार बढिरहेको र छुट्टै वार्ड नहुँदा उपचारमा कठिनाइ भइरहेको बताउँदै अब नयाँ व्यवस्था पछि उपचारमा सहजता आउने विश्वास व्यक्त गरिन्।