शाहरुख खान ‘किङ्ग’मा हत्याराको भूमिकामा, सुहानाकी आमा बन्ने रानी मुखर्जी

नयाँ दिल्ली — बलिउडका सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’को कारण फेरि एकपटक चर्चामा छन् । एक्सन थ्रिलर यो फिल्ममा उनी एक हत्याराको भूमिकामा देखिन लागेका छन् ।

फिल्ममा शाहरुखसँगै रानी मुखर्जी र दीपिका पादुकोणको पनि प्रमुख उपस्थिति रहनेछ । विशेष कुरा त के भने रानी मुखर्जी यस फिल्ममा शाहरुखकी छोरी सुहाना खानको आमाको भूमिकामा देखिनेछिन् । यद्यपि उनको यो भूमिका लामो केमियो हुने बताइएको छ ।

यसअघि यो भूमिकामा दीपिका पादुकोणको नाम चर्चामा रहेको थियो, तर पछिल्लो सूचना अनुसार अब यो भूमिका रानीले निर्वाह गर्नेछिन् । शाहरुख र रानीको जोडी लामो समयपछि पर्दामा देखिन लागेको हो ।

फिल्ममा अभिषेक बच्चन र दीपिका पादुकोणले नकारात्मक भूमिकामा अभिनय गर्दैछन् । शाहरुखलाई हत्याराको भूमिकामा देख्ने दर्शकका लागि यो फिल्म निकै रोचक हुने अपेक्षा गरिएको छ ।

फिल्मको छायांकन मे २० बाट मुम्बईमा सुरु हुने र त्यसपछि युरोपका विभिन्न स्थानमा सुटिङ गरिने योजना रहेको छ । निर्माण पक्षले फिल्म सन् २०२६ को अक्टोबरदेखि डिसेम्बरको बीचमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।