देशभर मौसममा पुनः अस्थिरता देखिएको छ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। पछिल्लो तीन घन्टाको अवधिमा हेटौंडामा ४५ मिलिमिटर, भरतपुरमा ३१.८ मिलिमिटर, रामपुरमा ३१ मिलिमिटर, तनहुँमा २१ मिलिमिटर तथा धनुषामा २६ मिलिमिटर वर्षा मापन गरिएको छ।
दिउँसोको समय मौसम अझै अस्थिर रहने देखिन्छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागहरूमा केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि यस्तै अवस्था रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति समेत हल्का वर्षा वा हिमपातको सम्भावना महाशाखाले जनाएको छ।
Leave a Reply