झापामा तीन भारतीय कन्टेनरबाट साढे ३ करोड बराबरको अवैध सामान बरामद

भारतबाट नेपाल भित्र्याइएका तीन वटा भारतीय नम्बर प्लेट भएका कन्टेनर ट्रकहरू चेकजाँच गर्दा करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरका अवैध मालसामान बरामद भएका छन्।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित नागरमोड नजिक पूर्व–पश्चिम राजमार्गमा ती कन्टेनरहरूलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरहरू भारतको काकडभिट्टाबाट नेपाल प्रवेश गर्दै थिए। कन्टेनरहरूको नम्बर NL 01 H 5679, NL 01 N 9223 र NL 02 L 7486 रहेको छ।

जाँचका क्रममा ती कन्टेनरहरूबाट पात संकलकसहित आवश्यक उपकरण जोडिएका ट्रयाक कम्बाइन हार्भेस्टर फेला परेको हो। प्रारम्भिक अनुमान अनुसार बरामद सामानको मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरको रहेको छ।

उक्त घटनामा आवश्यक अनुसन्धानको लागि कन्टेनरहरूलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ। हाल थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।