वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुने पहिरो समस्यालाई समाधान गर्न प्रयास सुरु गरिएको छ। गत वर्षको असार २८ मा सिमलताल क्षेत्रमा दुई वटा बस पहिरोसँगै बगाउँदा ६२ जना यात्रु बेपत्ता भएपछि यस वर्ष यस्ता घटना नदोहोरियोस् भनेर सुरक्षात्मक काम अगाडि बढाइएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानहरूमा पहिरो नियन्त्रणका उपाय अपनाइएका छन्। विशेषगरी, सिमलताल क्षेत्रको माथिल्लो भागमा लेदो बग्न नदिन साना ‘चेक ड्याम’ निर्माण गरिएको छ। मौरी खोला पुल माथि पनि चेक ड्याम र खोल्सो बनाउने काम सम्पन्न भइसकेको छ। कालीखोला लगायतका अन्य संवेदनशील स्थानहरूमा समेत पहिरो रोकथामका काम गरिएका छन्।

उनले भने, “यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौं, तर आइहालेमा तत्काल हटाउन उपकरण तयारी अवस्थामा राखिएको छ।”

डिभिजन सडक कार्यालयले सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरजस्ता उपकरणहरु तयारी अवस्थामा राखेको जनाएको छ। भरतपुरको कार्यालयमा पनि यस्ता सबै उपकरणहरू उपलब्ध छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार, डिभिजन सडक कार्यालय र सुरक्षा निकायबीच समन्वयमा छलफल गरेर आवश्यक तयारीहरू सुरु गरिएका छन्।

गत वर्ष सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा रात्रिकालीन बसका ३९ जना यात्रु अझै बेपत्ता छन्। तीमध्ये एन्जल्स डिलक्स बसमा २६ जना सवार थिए, जसमा १० जनाको शव भेटिएको थियो भने १६ जना अझै बेपत्ता छन्। गणपति डिलक्स बसमा ३६ यात्रु सवार थिए, जसमा ३ जना जिउँदै उद्धार गरिएको, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता छन्।

ती बसहरू अहिलेसम्म भेटिएका छैनन्। खोजी कार्यमा नेपाली गोताखोर मात्र नभई विदेशबाट पनि गोताखोर ल्याइएका थिए। तर, ती पनि बस वा यात्रु पत्ता लगाउन असफल भए। त्रिशूलीमा बाढी बढेपछि खोजी कार्य थप कठिन बनेको थियो। कतिपय शव नारायणी नदी र भारतसम्म फेला परेका थिए।