मोटरसाइकल दुर्घटनामा परी सब-इञ्जिनियरको मृत्यु

गुल्मी । गुल्मी जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा परि एक सब-इञ्जिनियरको घटनास्थलमै मृत्यु भएको छ।

दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई नालीमा खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।

चौधरी गुल्मीको इन्द्र एमके जेबी निर्माण सेवामा कार्यरत सब–इञ्जिनियर थिए। उनी रेसुङ्गा नगरपालिका–५ लप्सीस्थित सडकमा साढे १० बजेतिर सिमाघाटतर्फ जाँदै गर्दा दुर्घटना भएको बताइएको छ।

सोमबार बिहान सवा ७ बजेतिर स्थानीयको खबरपछि पुगेको प्रहरी टोलीले चौधरीलाई घटनास्थलमै मृत अवस्थामा फेला पारेको थियो।

दुर्घटनास्थल गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिमतर्फ करिब १० किलोमिटर टाढा पर्दछ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई खबर गरिसकिएको जनाइएको छ।