रोल्पा जिल्लामा लागुऔषध चरेससहित चार जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा एक जना दाङ जिल्लाका हुन् भने बाँकी तीन जना रोल्पाका बासिन्दा रहेका छन्।
दाङको लमही नगरपालिका–५ कोइलाबास रोड निवासी ३१ वर्षीय राजन गुप्ता रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँमा कोठा भाडामा लिएर ‘हिल साइड अटो वर्कसप’ सञ्चालन गर्दै आएका थिए। प्रहरीले गुप्ताको कोठामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार राति १० बजे छापा मारेको थियो।
प्रहरीले कोठा खानतलासी गर्दा दराजमाथि प्लास्टिकमा बेरेर राखिएको अवस्थामा ६.८२ ग्राम चरेस फेला पारेको थियो। प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार गुप्ता सहित रोल्पा नगरपालिका–२ मूलपानीका २८ वर्षीय भुपेन्द्र डाँगी, माडी गाउँपालिका–२ परिवाङका २२ वर्षीय सुमन बुढा मगर र सोही ठाउँका २३ वर्षीय लोकेन्द्र बुढा मगर पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूलाई अनुसन्धानको लागि जिल्ला अदालत रोल्पाबाट आइतबार १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
Leave a Reply