मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तीन महिनाका लागि रोकियो

भरतपुरस्थित मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तत्कालका लागि रोकिएको छ। बिमित तथा राज्य दुबै पक्षबाट पैसा लिएको पुष्टि भएपछि स्वास्थ्य बीमा बोर्डले अस्पतालमाथि कारबाहीस्वरूप सेवा स्थगन गरेको हो।

बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, बिरामीको उपचारपछिको भुक्तानी दाबी झुटो भएको देखिएपछि अस्पतालको बीमा सेवा तीन महिनाका लागि बन्द गरिएको हो। उनले भने, ‘अस्पतालले बीमा बापतको रकममा मनोमानी गरेको पाइयो, त्यसैले तीन महिना रोक्ने निर्णय गरेका हौं। यदि थप अनियमितता भेटियो भने कार्यक्रम नै खारेज गरिनेछ।’

गुनासोपछि केही महिना अघि बोर्डले अनुगमन गर्दा अस्पतालले बिमितबाट पनि रकम लिएको र त्यसपछि पुनः बीमा बोर्डसमक्ष दाबी गरी दोहोरो भुक्तानी लिएको प्रमाण भेटिएको बताइएको छ।

स्वास्थ्य बीमा बोर्डले सम्बन्धित बिमितलाई पैसा फिर्ता गर्न निर्देशन पनि दिइसकेको छ।

हाल चितवन जिल्लामा भरतपुर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, पूरानो मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, बघौडा अस्पताल माडी, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र इच्छाकामना अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन्।

स्वास्थ्य बीमा योजनाअन्तर्गत एक परिवारका पाँच सदस्यसम्मका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ भने थप सदस्य भएमा प्रत्येक सदस्यका लागि सात सय रुपैयाँ अतिरिक्त लाग्छ। बीमाले कभर गरेको उपचारमा सरकारी अस्पतालमा सेवा लिँदा १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत रकम बीमितले आफैं तिर्नुपर्छ, जसलाई सहभुक्तानी भनिन्छ।