प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयोजनामा गरिने कार्यक्रममा नियमित रुपमा अनुपस्थित रहने व्यक्तिहरूलाई आगामी कार्यक्रमहरूमा नबोलाउन निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले नाम राखेर पटक–पटक निम्तो गरिए पनि कार्यक्रममा नआउने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरे।
उनको भनाइ थियो, ‘कहिल्यै नआउनेहरूलाई हरेक कार्यक्रममा नाम राख्नुपर्ने मान्यता हटाउनु पर्छ। मानको लागि मात्र निम्तो दिने चलन अब रोक्नु पर्ने भयो। यस्तो मान्छे खोज्यो भने धेरै भेटिन्छन्।’
प्रधानमन्त्रीले विशेषगरी काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति संकेत गर्दै भने, ‘सधैं कार्यक्रममा बोलाउने, तर कहिल्यै नआउने। अब रेकर्ड हेरेर काम गर्नुहोस। को आउँछ, को नआउँछ त्यसको आधारमा आगामी कार्यक्रममा नाम राख्ने कि नराख्ने निर्णय गरौं।’
उनले गणतन्त्र दिवसलाई जनस्तरमा मनाउनुपर्नेमा जोड दिंदै भने, ‘सरकारी कार्यक्रममै भर पर्नु हुँदैन। जनसाधारणको सहभागिता र उत्साहपूर्ण वातावरणमा यो दिन मनाउनु पर्छ।’
Leave a Reply