सिंहदरबारमा मेलम्चीको पानी, बोतल र जारको पानी विस्थापन हुने

काठमाडौं — मेलम्चीको शुद्ध खानेपानी अब सिंहदरबारमा औपचारिक रूपमा वितरण सुरु गरिएको छ। सोमबार सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा खानेपानी मन्त्री प्रदीप यादवले आफ्नै उपस्थितिमा मेलम्चीको पानी पिएर यो अभियानको शुभारम्भ गरेका हुन्।

मन्त्री यादवका अनुसार अबदेखि सिंहदरबार परिसरभित्र रहेका सबै मन्त्रालय तथा कार्यालयहरूमा मेलम्चीको पानी आपूर्ति गरिनेछ। यसबाट लामो समयदेखि प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापन हुने उनले जानकारी दिए।

“यो केवल एक सुरुवात मात्र होइन, सुशासन, पारदर्शिता र जनताको सेवा गर्नेतर्फको हाम्रो प्रतिबद्धताको मूर्त रूप हो,” मन्त्री यादवले भने। उनले मेलम्चीको पानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र किफायती बनाउने प्रयासको थालनी भएको बताए।

सो अवसरमा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, केयुकेएलका प्रतिनिधिहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।