काठमाडौं, मे २० – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
मंगलबार नेपाल शिक्षक संघ काठमाडौँ महानगरका पदाधिकारीसँगको छलफलमा महरले सरकारले पटक–पटक गरेका सम्झौता लागू नगरेकोप्रति चिन्ता व्यक्त गरे।
उनले भने, ‘शिक्षकका माग सम्बोधनका लागि भएका सम्झौता कार्यान्वयन गर्नुपर्छ। संविधानमै व्यवस्था भएको गुणस्तरीयता सहितको निःशुल्क शिक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषय विधेयकमार्फत स्पष्ट ल्याउन जरुरी छ। साथै, थ्री पी अवधारणाअनुसार निजी लगानी संरक्षणका विषय पनि विधेयकमा समेटिनुपर्छ।’
उनले वैशाख १७ मा सरकार र शिक्षक महासंघबीच भएको सहमति पनि तुरुन्त कार्यान्वयन हुनुपर्ने धारणा राखे।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिको प्रतिवेदनले आफूहरूसँग भएको सहमतिलाई बेवास्ता गरेको शिक्षक महासंघको आरोप छ।
तर महरले शिक्षा विधेयकमा महासंघसँग भएका सहमति प्रावधानहरू समावेश हुनुपर्ने र शिक्षकहरूलाई गुणस्तरीय शिक्षामा थप उत्तरदायी बनाउन राज्यले सेवा सुविधा विस्तारमा दिल खोलेर साथ दिनुपर्ने बताएका छन्।
छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उपसमितिको प्रतिवेदन हाल संसद्मा दर्ता विधेयकभन्दा अझ अनुदार भएको र शिक्षक-कर्मचारी विरोधी खालको देखिएको टिप्पणी गरे।
Leave a Reply