भारतको ओडिसास्थित केआईआईटी (कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी) फेरि एकपटक नेपाली विद्यार्थीको मृत्युको केन्द्रमा परेको छ। वीरगञ्जकी प्रिशा शाह कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि पूरै विद्यार्थी समुदाय स्तब्ध छ।
पहिलो वर्षको दोस्रो सेमेष्टरमा अध्ययनरत प्रिशा बिहीबार साँझ करिब ८ बजे मृत अवस्थामा भेटिएकी हुन्। यो घटनाले न केवल नेपाली समुदायमा तर सम्पूर्ण भारतीय विद्यार्थी समाजमा गहिरो आक्रोश फैलिएको छ।
अखिल भारतीय विद्यार्थी परिषद् (ABVP)—आरएसएसको मातहतमा रहेको भारतकै सबैभन्दा ठूलो विद्यार्थी संगठनले यो घटनालाई “घिनलाग्दो, लज्जास्पद र गम्भीर लापरबाही” भनेर टिप्पणी गर्दै राज्य सरकारलाई कडा कारबाहीको माग गरेको छ।
ABVP का राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलंकीले यस्तो घटना बारम्बार दोहोरिँदा पनि सरकार किन मौन छ भन्दै प्रश्न उठाएका छन्। “अब धैर्यको सीमा सकियो, केआईआईटीमाथि कडा छानबिन र कारबाही आवश्यक छ,” उनले स्पष्ट रुपमा भने।

यो पहिलो घटना होइन—गत ४ फागुनमा नेपाली छात्रा प्रकृति लम्साल पनि होस्टलमै मृत अवस्थामा फेला परेकी थिइन्। उनले आत्महत्याअघि कलेज प्रशासनमा मानसिक दुर्व्यवहार र ब्ल्याकमेलको उजुरी दुई पटक दिएकी थिइन्। तर प्रशासनले गम्भीरतापूर्वक नलिएको आरोप लाग्दै आएको छ।
अब प्रश्न उठ्दैछ—नेपाली विद्यार्थीहरू भारतका विश्वविद्यालयमा कति सुरक्षित छन्? के बाह्य मुलुकका छात्राछात्राहरूको सुरक्षामा यी संस्थाहरू जिम्मेवार छन्?
मृतक प्रिशा शाहप्रति गहिरो समवेदना प्रकट गर्दै ABVP ले यस्ता घटनाको दोहोरिन नदिन प्रशासन, राज्य सरकार, र कलेज व्यवस्थापन सबैको जिम्मेवारी निर्धारण गर्नुपर्ने चेतावनी दिएको छ।
Leave a Reply