बस र टिप्पर ठोक्किँदा ७ जना घाइते, एकको अवस्था गम्भीर

तनहुँको बन्दिपुर–४ गोरेचौतारामा आज बिहान यात्रुवाहक बस र टिप्पर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको बा.प्र. ०१–००१ अ–००२७ नम्बरको टिप्पर पृथ्वी राजमार्गमा ठोक्किएका हुन्।

दुर्घटनामा परेर ४९ वर्षीय हरिसचन्द्र खत्रीको खुट्टा फ्याक्चर भएको छ। उनलाई थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको छ। अन्य घाइतेहरू लक्ष्मी अस्पताल डुम्रेमा उपचाररत छन्।

घाइते हुनेहरूमा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिप्पर चालक ४४ वर्षीय शङ्कर अधिकारी रहेका छन्।

दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अगाडि बढाएको छ।