काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सांसदहरूले शून्य समयमा जनताका सरोकार र समस्याबारे आवाज उठाएका छन्।
सांसद वीना लामाले सदन सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने मर्यादापालकहरूको समस्याबारे बोल्दै, उनीहरूलाई पोषणयुक्त खाजा र भत्ता नदिइएको गुनासो गरिन्। उनले सरकारसँग यथाशिघ्र सुविधा उपलब्ध गराउन माग गरिन्।
सांसद विनीताकुमारी सिंहले सिराहामा सञ्चालित जनता आवास कार्यक्रमअन्तर्गत पहिलो किस्तामात्रै प्रदान गरिएको उल्लेख गर्दै बाँकी किस्ता तत्काल विनियोजन गर्न माग गरिन्।
सांसद विना जैसवालले बैंक तथा वित्तीय संस्थाहरूले धितो न्यून मूल्यांकनमा लिलाम गर्ने, कर्जा प्रक्रियामा झन्झट हुने, र एटीएम सेवा २४ घण्टा नचल्ने विषयमा गम्भीर ध्यानाकर्षण गराइन्।
सांसद शान्ति श्रेष्ठले आगामी आवका नीति तथा कार्यक्रममा गरिबी निवारणका पक्षमा आशालाग्दो योजना रहेको बताउँदै, बजेटमा समेटेर तत्काल कार्यान्वयनमा लैजानुपर्ने धारणा राखिन्। उनले सबै जिल्लामा आवासीय विद्यालय स्थापना गरिनुपर्ने उल्लेख गरिन्।
सांसद शिव नेपालीले लामो दूरीका सवारी र हवाई सेवामा अत्यधिक भाडा असुलिने तर गुणस्तरहीन सेवा दिइने गुनासो जनाउँदै कडाइका साथ अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद शिशिर खनालले काठमाडौंको ठमेल–गोल्कोपाखा–गोङ्गबु सडक विस्तार भए पनि बीचमै बिजुलीको पोल नराखिएकाले दुर्घटनाको जोखिम रहेको बताए।
सांसद शेरबहादुर कुँवरले पूर्वसांसद गोविन्दनाथ उप्रेतीको उपचारमा सरकार अनुदार देखिएको आरोप लगाउँदै आवश्यक उपचारको व्यवस्था गर्न माग गरे।
सांसद शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा निर्माणाधीन जब्दी पुलका लागि बजेट सुनिश्चित भए पनि निर्माणमा ढिलाइ भएको भन्दै छिटो सम्पन्न गर्न आग्रह गरिन्।
सांसद सरिता भुसालले युवापुस्तामा सुर्तीजन्य पदार्थको लत बढ्दै गएको भन्दै कर वृद्धि, खुला बिक्रीमा प्रतिबन्ध र दीर्घकालीनरूपमा पूर्ण निषेधतर्फ लैजानुपर्नेमा जोड दिइन्।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए।
Leave a Reply