मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला परेका छन्। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी अकस्मात जमिनमा भासिएको थियो। घटनापछि व्यापक खोजी गर्दा पनि गाडी फेला परेको थिएन, जसले स्थानीयहरूमा त्रास र कौतूहल दुवै फैलिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार गाडीका केही भागहरू उत्खननपछि फेला परेका हुन्। भूगर्भ शास्त्र केन्द्रीय विभागको टोलीले वैशाख २३ र जेठ २ गते उक्त स्थानको अध्ययन गरी माटो परीक्षण गरेको थियो। टोलीले सतर्कताका साथ उत्खनन् गर्न मिल्ने सुझाव दिएपछि स्थानीय जनप्रतिनिधिहरू, प्रहरी, र क्रेन-स्काभेटरको सहयोगमा खोजी कार्य अघि बढाइएको थियो।

हालसम्म गाडी पूर्ण रूपमा फेला नपरे पनि फेला परेका पार्टपुर्जाहरूले खोजी कार्यलाई थप दिशा दिने प्रहरीको भनाइ छ। घटनाको कारणवारे थप अनुसन्धान जारी छ।