बागलुङमा आन्तरिक पर्यटकको चाप उच्च, धार्मिक तथा शैक्षिक भ्रमणको मुख्य गन्तव्य

बागलुङ, वैशाख — बिदेशी पर्यटकको तुलनामा न्यून आगमन भए पनि बागलुङ जिल्लामा आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। धार्मिक, शैक्षिक भ्रमण र अवलोकनका लागि बागलुङले आन्तरिक पर्यटकलाई खिच्न थालेको छ।

धार्मिक आस्थाका केन्द्रहरू कालिका मन्दिर, पञ्चकोट र कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक देखिन थालेका छन्। तीर्थयात्रा तथा विद्यालय–क्याम्पसले आयोजना गर्ने भ्रमण कार्यक्रमहरूका कारण बागलुङको पर्यटन गन्तव्यहरू चर्चित बन्दै गएका छन्।

सदरमुकामदेखि चार किलोमिटर दूरीमा रहेको शालग्राम सङ्ग्रहालयमा मात्र गत वर्ष एक लाखभन्दा बढी पर्यटक पुगेको स्थानीय अर्जुन सापकोटाले जानकारी दिए। नयाँ वर्ष २०८२ को पहिलो दिन अहिलेसम्मकै धेरै पर्यटक सो क्षेत्र पुगेका थिए।

शैक्षिक भ्रमणको नाममा आउनेहरू मुख्यतः पोखराबाट आउने गरेका छन् भने विराटनगर र हेटौँडाबाट समेत भ्रमण टोली आउन थालेका छन्। बालाजीधाम, गाईघाट झरना, ढोरपाटन सिकार आरक्ष, भैरवस्थान मन्दिर तथा नेपालकै लामो झोलुङ्गे पुलजस्ता गन्तव्यहरू पनि पर्यटकका रोजाइमा छन्।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार चैतेदसैँयता कालिका मन्दिरमा मात्र करिब ६ लाख आन्तरिक पर्यटक भित्रिएको आँकडा छ। नयाँ वर्षसहित हरेक बिदामा यहाँको भीड अत्यधिक हुन थालेको हो।

पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार पोखरा–म्याग्दी–मुस्ताङ यात्रा तय गर्ने पर्यटकहरू बागलुङलाई पनि ‘मस्ट स्टप’ बनाउने गरेका छन्। होटल व्यवसाय समेत पर्यटकका कारण भरिभराउ हुन थालेको छ। साथै, पञ्चकोट र कालिका मन्दिरको नाम नेपालका १०० प्रमुख गन्तव्य सूचीमा सूचीकृत भएपछि यहाँको महत्त्व थप बढेको छ।

बागलुङले आन्तरिक पर्यटन प्रवर्द्धनको राम्रो सम्भावना बोकेको प्रमाणित गरिरहेको छ।