गोरखाको फिनाममा बसको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते

गोरखा — गोरखाको फिनाममा बसको ठक्करबाट एक सात वर्षीया बालिकाको ज्यान गएको छ भने अर्की एक महिला घाइते भएकी छन्।

गोरखा सदरमुकामबाट आरूघाटतर्फ गइरहेको ग २ ख ९२९ नम्बरको यात्रुवाहक बसबाट ओर्लने क्रममा दुर्घटना भएको हो। बसबाट ओर्लन लाग्दा बालिका गम्भीर घाइते भइ घटनास्थलमै ज्यान गुमाएकी हुन्। उनीसँगै रहेकी आमा भने घाइते अवस्थामा उपचारका लागि गोरखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाहरूले गोरखा–आरूघाट सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।