Mews Khabar
पाकिस्तान सरकारले देशभरका एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाएको छ।
कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएपछि पाकिस्तानले यो कदम चालेको हो।
पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (PBA) का महासचिव शकील मसूदले बिहीबार जानकारी दिँदै पीबीएले देशभरका एफएम रेडियो स्टेशनमा तत्काल प्रभावबाट भारतीय गीत बजाउन निषेध गरेको बताए। उनका अनुसार, यो निर्णय राष्ट्रिय भावना, सुरक्षा र सांस्कृतिक आत्मनिर्भरता प्रतीकस्वरूप गरिएको हो।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले पीबीएको निर्णयको स्वागत गरेका छन्। उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै पीबीएको निर्णयलाई “देशभक्तिपूर्ण र राष्ट्रिय एकता मजबुत पार्ने” कदमको संज्ञा दिएका छन्।
उनले भने, “भारतले यदि कलाकार र सांस्कृतिक सम्पर्कमाथि प्रतिबन्ध लगाउँछ भने हामीले पनि आफ्ना मूल्य र स्वाभिमानको रक्षा गर्न कडा निर्णय लिनु पर्छ।”
यसअघि भारतले कश्मीरको पहलगाममा भएको आतंकी हमलापछि पाकिस्तानी कलाकारहरूमाथि पूर्ण प्रतिबन्धको घोषणा गरेको थियो।
साथै, भारत सरकारले पाकिस्तानसँग सम्बन्धित १६ वटा युट्युब च्यानलहरू पनि बन्द गरेको छ। साथै केही पाकिस्तानी कलाकारका सामाजिक सञ्जाल खाताहरूमा पनि पहुँच अवरुद्ध गरिएको जनाइएको छ।
पाकिस्तानमा भारतीय गीतहरू विशेष गरी बलिउडका पुराना संगीत अत्यन्तै लोकप्रिय रहेका थिए।
लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार, मुकेशजस्ता गायकका गीतहरू पाकिस्तानका एफएम रेडियोमा दैनिक बज्ने गर्थे।
नयाँ पुस्ताका गायकरू — अरिजित सिंह, जुबिन नौटियाल, श्रेया घोषाललगायतका गीतहरू पनि त्यहाँ निकै सुन्ने गरिन्थ्यो।
तर हालको निर्णयपछि ती गीतहरू पाकिस्तानी एफएमहरूबाट पूर्णतः हटाइएका छन्।
विश्लेषकहरूका अनुसार, यो निर्णयले भारत–पाकिस्तानबीचको सांस्कृतिक सम्बन्धलाई थप कमजोर बनाउनेछ।
कतिपयले यो कदमलाई “राजनीतिक असहमतिको सांगीतिक मूल्य चुकाउनु परेको” रूपमा व्याख्या गरेका छन्।
Leave a Reply