आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक: संविधान संशोधनदेखि विकास प्राथमिककरणसम्म सरकारको स्पष्ट एजेन्डा

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममार्फत सरकारले जनतालाई विश्वास दिलाउने र देशमा सुशासन कायम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, “सरकार परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउने दिशामा काम गर्दैछ। जनता र सरकारबीचको सम्बन्ध अझ बलियो बनाउँदै, सुशासन र उत्तरदायित्वमा आधारित शासन प्रणाली स्थापित गरिनेछ।”

अराजकताविरुद्ध कडा कदम, संविधान समीक्षा हुने
नीति तथा कार्यक्रममा अराजक गतिविधिहरूविरुद्ध सरकार दृढ रहेको उल्लेख गरिएको छ। गणतन्त्रविरोधी प्रतिक्रियालाई कडा प्रतिवाद गरिने बताउँदै, संविधानमा रहेका कमी-कमजोरीलाई आपसी समझदारीका आधारमा संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

राजनीतिक तथा नीतिगत स्थिरताको सुनिश्चितता
राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै सरकार नीतिगत स्थायित्व पनि सुनिश्चित गर्ने तयारीमा रहेको बताइएको छ। यसले नीतिगत दिशामा अनिश्चितता हटाउने र लगानी वातावरण सुदृढ गर्ने अपेक्षा गरिएको छ।

विकास आयोजनामा सुधार र प्राथमिकता पुनःनिर्धारण
नीति तथा कार्यक्रममा विगतका वर्षहरूमा घोषणा भएका तर कार्यान्वयनमा समस्या देखिएका विकास आयोजना तथा योजनालाई पुनः प्राथमिककरण गर्ने र ढाँचागत सुधारको माध्यमबाट कार्यसम्पादनमा गति ल्याउने भनिएको छ। स्रोत सुनिश्चित नभएका योजनाहरूलाई स्थगन वा खारेज गर्ने निर्णय लिइने पनि उल्लेख छ।

सरकारको यो नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक यात्रामा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

थप विवरण र नीति दस्तावेजको पूर्णपाठको लागि मेउज खबरमा नियमित रूपमा अपडेट हेर्नुहोस्।