लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

– लुम्बिनी विकास कोषले यस वर्षको २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ लाई भव्य रूपमा मनाउने तयारी तीव्र पारेको छ।
कार्यक्रमको प्रचारप्रसारलाई प्रभावकारी बनाउन शुक्रबार प्रचारप्रसार व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको हो।

बैठकमा प्रचार अभियानलाई व्यापक बनाउने उद्देश्यले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र माइकिङ मार्फत देशव्यापी जनचेतना फैलाउने रणनीति तय गरिएको छ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डीराज भट्टराईले यसबारे जानकारी दिएका छन्।


मोबाइलमा बुद्ध रिङटोन, पत्रकार सम्मेलनको तयारी

कोषमार्फत नेपाल टेलिकमसँग सहकार्य गरी मोबाइलमा बुद्धजयन्ती र लुम्बिनी दिवस सम्बन्धी रिङटोन बजाउन अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यस्तै, जेठ २७ गते पत्रकार सम्मेलन आयोजना गरिने र सञ्चारमाध्यमहरूलाई बुद्धजयन्ती विशेष कार्यक्रम प्रसारण गर्न अनुरोध गर्ने तयारी गरिएको छ।

भट्टराईका अनुसार बुद्ध जन्मस्थलसँग सम्बन्धित वृत्तचित्रहरू मिडियामा प्रसारण गराउनुपर्ने निर्णय पनि गरिएको छ।


पत्रकार सम्मान र स्थानीय संलग्नता

लुम्बिनीको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने रूपन्देही, कपिलवस्तु र नवलपरासीका एक/एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।
समारोहको प्रचारमा स्थानीय सरकार, बुद्धिजीवी, समाजसेवी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय बौद्ध संघसंस्थासँग सहकार्य गर्ने उपसमितिको निर्णय रहेको छ।


तीन दिन लामो कार्यक्रम, विविध धार्मिक र सांस्कृतिक प्रस्तुति

यस वर्षको बुद्धजयन्ती एवम् लुम्बिनी दिवस समारोह जेठ २८, २९ र ३० गते तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइनेछ।
कार्यक्रममा शिशु बुद्धको शोभायात्रा, दीप प्रज्वलन, बौद्ध दर्शन सम्बन्धी विशेष कार्यक्रम, तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश हुनेछन्।

समारोहबाट बौद्ध संस्कृति, दर्शन र विश्व शान्तिको सन्देश विश्वभर फैलाउने अपेक्षा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।