सिम्रौनगढको प्रशासनिक विवादले लियो उग्र रुप, मेयरमाथि कुटपिटको गम्भीर आरोप

सिम्रौनगढ नगरपालिकामा एक चौंकाउने घटना सार्वजनिक भएको छ। नगर प्रमुख अर्थात् मेयर किशोरी साह कलवारमाथि आफ्नै प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई दुर्व्यवहार तथा कुटपिट गरेको गम्भीर आरोप लागेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारा दुवैमा उजुरी दर्ता गराइसकेका प्रशासकीय अधिकृत जयसवालले दाबी गरेका छन् कि कानुनी प्रक्रिया नपु¥याई ७१ लाख रुपैयाँ भुक्तानी गर्न बारम्बार मौखिक आदेशद्वारा दबाब दिइएको थियो। उनले कानुन विपरीत भुक्तानी दिन अस्वीकार गरेपछि वैशाख १६ गते बिहान १० बजे मेयर निवासमा बोलाएर उनलाई हातपात गरिएको हो।

“‘बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने?’ भन्ने जवाफ दिँदै थिएँ, तर त्यसको सट्टा मलाई अन्धाधुन्ध कुटपिट गरियो,” – जयसवालले भने।

मेलाको नाममा १० लाख छुट, दबाब भने २७ लाखको!

सिम्रौनगढ नगरपालिका कार्यपालिकाको बैठकले विश्व प्रसिद्ध गढीमाई मेलाका लागि १० लाख रुपैयाँ छुट्याएको थियो। तर मेयर कलवारले त्यस मेला शीर्षकमा २७ लाख रुपैयाँ भुक्तानी गर्न दबाब दिइरहेको आरोप लागेको छ।

त्यसै गरी बिना बोर्ड निर्णय, वृक्षारोपणका लागि १५ लाख, ऐतिहासिक समारोहका लागि १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ छुट्याएर भुक्तानीका लागि दबाब दिइएको भनिएको छ।

नगरपालिकाका कर्मचारीहरू आन्दोलित, सम्पूर्ण सेवा ठप्प

कुटपिटको घटनाले सिम्रौनगढ नगरपालिका प्रशासन भित्रको असन्तोष झनै चर्किएको छ। कर्मचारीहरूले घटनाको विरोधमा सम्पूर्ण नगरपालिका सेवा ठप्प पारेका छन् र दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

उपमेयरको पनि कटु आरोप: “कर्मचारीलाई नोकरझैँ व्यवहार”

सिम्रौनगढकी उपमेयर नजमुसेहरले पनि मेयर कलवारमाथि कडा आलोचना गर्दै भनिन् – “उहाँको उद्देश्य नगरपालिका सञ्चालन होइन, व्यक्तिगत स्वार्थ हो। कर्मचारीहरूलाई आफ्ना नोकरझैँ व्यवहार गर्नु उहाँको नियमित बानी हो।”

मेयर सम्पर्कविहीन, जवाफ नदिँदा प्रश्नहरू अझै गहिरिए

यस्तो गम्भीर आरोपसँगै नगरवासीहरू स्तब्ध छन्। पटक-पटक सम्पर्क प्रयास गर्दा मेयर किशोरी प्रसाद कलवारले प्रतिक्रिया दिन मानेनन्।

अब हेर्न बाँकी छ – के यो मुद्दा प्रशासनिक सुधारको मोड लिन्छ त? कि सिम्रौनगढमा भ्रष्टाचार र मनपरीताको जाल अझै बलियो बनिन्छ?