काठमाडौं, आइतबार – आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट पूर्वतिर सर्दै गरेका पानी पार्ने बादलहरूले देशभरको मौसममा प्रभाव पारिरहेका छन्
उपत्यकाका तीनै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुर—सहित बागमती, गण्डकी र मधेस प्रदेशमा सक्रिय वायु प्रणालीका कारण वर्षा भइरहेको छ। मौसमविद् डेविड ढकालका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभर आंशिकदेखि सामान्यतया बदली देखिएको छ।
कहाँबाट सुरु भयो वर्षा?
ढकालका अनुसार हालको वर्षा प्रणाली लुम्बिनी र गण्डकी प्रदेशबाट सुरु भएको हो। त्यसैले काठमाडौंलगायत अन्य भूभागहरूमा लगातार वर्षा भइरहेको छ।
घाम लाग्ने सम्भावना?
“पानी पर्ने र रोकिने क्रम चलिरहने देखिन्छ,” ढकालले भने, “तत्कालै घाम लाग्ने सम्भावना देखिँदैन।”
पश्चिम तराईमा पनि वर्षा सुरु हुँदै
ढकालले जानकारी दिएअनुसार केही बेरमा पश्चिमको तराई भूभागहरूमा पनि पानी पर्ने क्रम सुरु हुने संकेत देखिएको छ।
तीन दिनसम्म वर्षा चलिरहने
अर्को तीन दिनसम्म देशका धेरै भागमा वर्षा र रोकिने क्रम चलिरहने अनुमान गरिएको छ। “आज अलि बढी पर्न सक्छ, भोलि अलिकति कम। तर पूर्ण रूपमा वर्षा रोकिने संकेत देखिँदैन,” मौसमविद् ढकालको भनाइ छ।
पछिल्ला ६ घन्टाको वर्षा विवरण
- विराटनगर: ५०.६ मिलिमिटर
- हेटौंडा (मकवानपुर): ४४ मिलिमिटर
- रजैया: ३३.२ मिलिमिटर
देशका अन्य भागमा पनि मध्यमदेखि हल्का वर्षा भइरहेकाले सर्वसाधारणले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
Leave a Reply