श्रीमती मार्न सुपारी दिए, आफैं हत्या गरिए : धादिङमा रहस्यमय अपराधको खुलासा

धादिङ, २१ वैशाख।
धादिङको गजुरी गाउँपालिका–२ निवासी ६० वर्षीय चुडामणि कँडेल आफ्नै श्रीमतीको हत्या गर्न सुपारी दिएपछि आफैं हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

२०७९ चैत २७ गते आफ्नै घरको शौचालयमा घाँटी डोरीले कसिएको अवस्थामा मृत फेला परेका कँडेलको प्रारम्भिक रूपमा आत्महत्या भएको आशंका गरिएको थियो। तर प्रहरी अनुसन्धानले घटना हत्या भएको पुष्टि गरेको हो।

चार लाखको सुपारी, श्रीमती मार्न असफल भएपछि उल्टै हत्या

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र शाहीका अनुसार कँडेलले आफ्नै श्रीमती सुस्मिता सिलवालको हत्या गर्नका लागि मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी अक्कल बहादुर प्रजा नामक व्यक्तिलाई चार लाख रुपैयाँ सुपारी दिएका थिए।

जग्गा बिक्री गरी रकम जुटाएका कँडेलले त्यो पैसा आफ्नै खेतमा काम गर्दै आएका प्रजालाई दिएका थिए। उक्त योजनामा प्रजासँगै पृथलाल थिङ र सञ्चलाल तामाङ पनि संलग्न भएको खुलेको छ। श्रीमतीको हत्या गर्न पटक–पटक प्रयास गरे पनि असफल भएपछि कँडेलले रकम फिर्ता माग्न थालेका थिए।

फिर्ता दबाबपछि हत्या योजना बनाइयो

पैसा खर्च गरिसकेका अभियुक्तहरूले रकम फिर्ता गर्न नसक्ने अवस्थामा चुडामणिकै हत्या गर्ने योजना बनाएका थिए। चैत २४ गते राति उनी घरमा एक्लै रहेको मौका छोपेर कोदालोको बीँडले प्रहार गर्दै हत्या गरिएको अनुसन्धानमा खुलेको छ। घटनापछि उनको घाँटीमा डोरी झुन्ड्याएर आत्महत्या जस्तो देखाउने प्रयास गरिएको थियो।

घटनामा संलग्न तीन जना पक्राउ

प्रहरीले अनुसन्धानका क्रममा अभियुक्तहरूको पहिचान गरी अक्कल बहादुर प्रजाको कोठाबाट एक लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। साथै, तीनै जनाले घटनापछि एउटै किसिमको जुत्ता खरिद गरेर भागेको प्रमाण पनि संकलन गरिएको छ।

पति–पत्नीबीच चिसो सम्बन्ध

अनुसन्धानको क्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवालबीच आपसी सम्बन्ध सुमधुर नरहेको समेत खुलेको छ। सुस्मिता प्रायः सीतापाइलास्थित घरमा बस्ने गरेकी थिइन्। घटना हुनुभन्दा दुई साता अघि मात्रै गाउँ आएर १० दिन बसेर फर्किएकी थिइन्।

पोष्टमार्टमपछि कँडेलको परिवारले अन्त्येष्टि गरिसकेको छ भने श्रीमती सुस्मिताले समेत प्रहरीमा जाहेरी दिएकी छन्। हाल प्रहरी अनुसन्धान जारी रहेको छ।

पारिवारिक पृष्ठभूमि

कँडेल पेशाले कृषक थिए। उनका छोरा क्यानडामा बसोबास गर्छन् भने छोरी काठमाडौंमा अध्ययनरत छन्।