‘नाजपा’को उदय : जनमत र नाउपाको ऐतिहासिक एकता आज

नेपाली राजनीतिमा एक ऐतिहासिक मोड आएको छ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) आज औपचारिक रुपमा एकता गर्दैछन्। दुई दल मिलेर बन्ने नयाँ दलको नाम हुनेछ नागरिक जनमत पार्टी (नाजपा)

एकता घोषणा कार्यक्रम आज दिउँसो ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तहका प्रतिनिधिहरू, संघ-संगठनहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

नयाँ संरचनाअनुसार, रेशम चौधरी पार्टीका संरक्षक बन्नेछन्, तर वरीयतामा उनी शीर्ष स्थानमा रहनेछन्। सीके राउत अध्यक्षका रूपमा दोश्रो वरीयतामा रहनेछन् भने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षका रूपमा तेस्रो वरीयतामा रहने सहमति भएको छ।

यो एकीकरणपछि प्रतिनिधि सभामा नाजपाका १० जना सांसद हुनेछन् — जनमतबाट ६ र नाउपाबाट ४ जना। यसले गर्दा नाजपा प्रतिनिधि सभाको सिट संख्या अनुसार एकीकृत समाजवादी पार्टीसँग बराबरीमा पुग्नेछ।

यो एकता नेपाली मधेसको राजनीतिक इतिहासमा नयाँ दिशा दिनसक्ने घटनाका रूपमा हेरिएको छ। शक्ति, संगठन र जनमतको एकीकृत स्वरूप आजदेखि ‘नाजपा’ को नाममा राजनीतिक मैदानमा उत्रनेछ।