– नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक भएको दाबी गर्दै आफूलाई ‘Kazu Group’ भन्ने समूहले २० लाखभन्दा बढी नेपाली नागरिकको संवेदनशील डाटा बिक्रीमा राखिएको घोषणा गरेको छ। यस घटनाले नेपालको सरकारी साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
ह्याकर समूहले सार्वजनिक गरेको पोस्टमा नागरिकको नाम, ठेगाना, मोबाइल नम्बर, नागरिकता नम्बरजस्ता व्यक्तिगत विवरणहरू भएको केही नमुना डाटा पनि सार्वजनिक गरिएको छ। उक्त पोस्टमा लेखिएको छ – “Ha! Group of ckers has the police under control!” जसको अर्थ, “ह्याकरहरूको समूहले त प्रहरी नै नियन्त्रणमा लिएको छ।”
यसले नेपाल प्रहरीको डिजिटल डाटाबेसमा गहिरो पहुँच बनाइएको संकेत गर्दछ। यद्यपि, हालसम्म नेपाल प्रहरी वा कुनै आधिकारिक निकायबाट यो विषयमा औपचारिक पुष्टि वा प्रतिक्रिया आएको छैन।
साइबर सुरक्षाविद्हरूले यो घटनालाई नेपालकै इतिहासमा हालसम्मकै ठूलो र गम्भीर डाटा लिक मानिएको बताएका छन्। यदि ह्याकरको दाबी सत्य हो भने लाखौं नेपालीको व्यक्तिगत विवरण दुरुपयोगमा पर्न सक्ने खतरा अत्यन्त ठूलो छ। यसले पहिचान चोरी, बैंकिङ ठगी, र सामाजिक दुरुपयोग जस्ता जोखिम निम्त्याउन सक्छ।
सामाजिक सञ्जालमा यो विषयले भैरहेको चर्चा र आक्रोशका बीच साइबर अपराध नियन्त्रण गर्ने सरकारी संयन्त्रको तयारी र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ। विज्ञहरूले तत्काल प्रविधिमैत्री अनुसन्धान टोली बनाएर ह्याकर समूहको पहिचान र डाटा सुरक्षाको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका छन्।
यसैबीच ह्याकर समूहले उक्त डाटा बिक्रीको लागि उपलब्ध रहेको र इच्छुकले सम्पर्क गर्नसक्ने दाबी समेत गरेको छ। सरकारी डाटाबेसहरू अझै पनि सुरक्षाहीन अवस्थामा रहेको यथार्थ उजागर भएको भन्दै नागरिकले सरकारसँग जवाफ माग्न थालेका छन्।
Mews Khabar यो घटनासम्बन्धी सबै अपडेटहरू निरन्तर संकलन गर्दैछ। जानकारीका लागि हामीसँगै रहनुहोस्।
Leave a Reply