“उमेरले होइन, मनले पढिन्छ” भन्ने भनाइलाई जीबित उदाहरण बनाउँदै गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया थापा मगर कक्षा ८ मा भर्ना भएकी छन्।
उनी गाउँपालिका वडा नम्बर ६ मा रहेको तोमनडाँडा माध्यमिक विद्यालयमा पुनः स्कुल जीवनमा फर्किएकी हुन्। तिलमायालाई विद्यालयमै एक विशेष कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले स्वागत गरेका छन्।
कक्षा ७ सम्म अध्ययन गरिसकेकी तिलमायाको पढाइ त्यसबेला विवाहपछि रोकिएको थियो। त्यसपछि लामो समय पारिवारिक जिम्मेवारी, सन्तानको पालनपोषण र गृहस्थीमा सीमित भएकी उनी अहिले आएर भन्छिन्, “छोराहरू पढ्दै छन्, अब म पनि पढ्न चाहन्छु।”
उनका दुई छोराहरू अहिले स्नातक तहमा अध्ययनरत छन्। छोराहरूको पढाइ हेर्दा आफूले छाडेको सपना फेरि जागेको उनी बताउँछिन्।
विद्यालयका प्रधानाध्यापक भीमलाल प्रजाले तिलमायालाई “पढ्ने इच्छा भएकालाई उमेरले रोक्दैन” भन्ने प्रेरणाको स्रोतको रूपमा उल्लेख गरे। “उहाँ आफैँ आएर भन्नुभयो — मलाई पढ्न मन छ, भर्ना गरिदिनुहोस्। हामीले खुसीसाथ भर्ना गर्यौं,” प्रधानाध्यापक प्रजाले भने।
तिलमायाको यो कदम समाजका लागि उदाहरणीय बन्दै गएको छ। उनको यो पहलले गाउँघरका महिलाहरूलाई पढ्न हौसला मिल्ने विश्वास गरिएको छ। विद्यालयले पनि उनको पढाइलाई सहज बनाउन आवश्यक सहयोग गर्ने जनाएको छ।
शिक्षाको ढोका कहिल्यै बन्द हुँदैन, ढोका खोल्न मनको चाबी चाहिन्छ भन्ने सन्देशसहित तिलमायाको स्कुल फिर्तीले धेरैलाई आत्मचिन्तन गर्न बाध्य बनाएको छ।
Leave a Reply