बलिउडलाई नवाजुद्दीन सिद्धिकीको कडा प्रहार: “यहाँ सबै चोर छन्, रचनात्मकता त टाट पल्टिसक्यो”

मुम्बई — चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी फेरि एकपटक बलिउडका भित्री रहस्यहरू खोल्दै विवादको भुमरीमा परेका छन्। आफ्नो नयाँ फिल्म ‘कोस्टाओ’को प्रचारका क्रममा युट्युब पत्रकार पूजा तलवारसँगको कुराकानीमा नवाजले हिन्दी फिल्म उद्योगमाथि तिखो आक्रमण गरेका छन्। उनले बलिउडलाई “चोरहरूको घेरा” भन्दै त्यसमा मौलिकताको अभाव, विचारको कमी र क्रिएटिभिटीको पतन भएको आरोप लगाएका छन्।

सिद्धिकी भन्छन्, “बलिउडमा एउटा हिट आइडिया आयो भने त्यसलाई पाँच–पाँच वर्षसम्म चपाइन्छ। जबसम्म दर्शकहरू बोर हुँदैनन्, तबसम्म त्यो चलिरहन्छ। अनि जब त्यो सकिन्छ, तिनै निर्माताहरू नयाँ चिज खोज्न दक्षिणतिर फर्किन्छन्।”

उनले बलिउडमा चलिरहेको सिक्वेल संस्कृतिलाई पनि ‘नयाँ सोचको कमी’ को प्रमाणका रूपमा व्याख्या गरे। “आजभोलि हरेक फिल्मको दुई, तीन, चार सिक्वेल आइरहेका छन्। यस्तो चलनले बलिउडलाई व्यवसायी बनायो, तर रचनात्मक बनाउने बाटो खोसियो,” उनले टिप्पणी गरे।

नवाजका अनुसार हिन्दी फिल्म उद्योगले सुरुदेखि नै ‘चोरी’लाई सामान्यीकृत गरेको छ — चाहे त्यो गीत होस्, कथा होस् वा दृश्य। “हामीले दक्षिण भारतबाट चोर्यौं, पश्चिमबाट चोर्यौं, कहिलेकाहीँ आफ्नै पुराना फिल्मका दृश्य पनि चोर्यौं। अब चोरले मौलिक हुन सक्दैन नि,” उनले कटाक्ष गरे।

उनको यो बयानले फिल्म उद्योगमा मौलिकता, जोखिम लिन सक्ने साहस र सिर्जनशीलताको स्तरमाथि गम्भीर प्रश्न उठाएको छ। नवाजुद्दीन स्वयं अभिनयमा गहिरो तयारी र अनौठा भूमिकाका लागि चिनिन्छन्, र उनको यो टिप्पणीले बलिउडमा मौलिकताको खडेरीलाई थप उजागर गरेको छ।

अब हेर्न बाँकी छ — बलिउडले यो आलोचना कति गम्भीर रूपमा लिन्छ, र के साँच्चै सिर्जनात्मकताको पुनर्जागरण गर्ने प्रयास गर्छ कि ‘चोरी’कै नाममा चलिरहन्छ।