सिद्धार्थनगरको कडा कदम: ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र अटो भिलेजमा सर्ने अल्टिमेटम

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र यत्रतत्र छरिएर सञ्चालनमा रहेका अटो ग्यारेजहरूलाई एकीकृत गर्न कडा निर्णय गरेको छ। पालिकाले सबै ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र सिद्धार्थ अटो भिलेज मा सर्नु पर्ने अल्टिमेटम जारी गरेको हो।

नगरपालिकाले वर्षौं अघिदेखि नगरको सौन्दर्य र व्यवस्थित विकासलाई मध्यनजर गर्दै एकीकृत अटो भिलेज मा सेवा केन्द्रित गर्ने योजना अघि बढाएको थियो। २०७० सालमै स्थापना भएको अटो भिलेजमा अझै पनि धेरै व्यवसायीहरू सर्न नमान्दा नगर कुरुप देखिनुका साथै सवारीसाधन मर्मत सेवाको अनियमितता समेत बढ्दै गएको जनाइएको छ।

पालिका प्रमुखले स्पष्ट पारे, “हामीले पटक–पटक सम्झाइरहेका थियौं, तर अब समयसीमा तोकेर कार्यान्वयनमा जानु आवश्यक भयो। ३५ दिनभित्र ग्यारेजहरू अटो भिलेजमा स्थानान्तरण नभए कडा कारबाही हुनेछ।”

पछिल्लो सूचना अनुसार, नगर क्षेत्रभित्र अटो भिलेज बाहेक अन्य स्थानमा ग्यारेज सञ्चालन पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।