
रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरीदेखि मर्चवार जोड्ने चार लेनको रणनीतिक सडक निर्माण अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेश सरकारको विशेष प्राथमिकतामा परेको यो सडक अब मर्चवार क्षेत्रका बासिन्दाका लागि ‘लाइफलाइन’ बन्ने पक्का देखिन्छ।
सडक निर्माणसँगै अब मर्चवारका किसानहरूले आफ्ना कृषिजन्य उत्पादन बुटवलको कृषि बजारमा सिधै पु-याउन सक्नेछन्, भने स्थानीय बासिन्दाले स्वास्थ्य सेवा र अन्य सुविधा लिन सजिलै बुटवल, भैरहवा र लुम्बिनी पुग्न सक्नेछन्।
सडक पूर्वाधार कार्यालय बुटवलका सूचना अधिकारी कृष्ण पण्डितले रातोपाटीसँग कुरा गर्दै भने, “दुईतर्फ मिलाएर १० किलोमिटर सडक निर्माण पूरा भइसकेको छ। पुल पनि प्रयोग गर्न मिल्ने अवस्थामा छ। अब रंगरोगन र साइनबोर्ड लेख्ने काम मात्रै बाँकी छ।”
🤝 दुई ठूला कम्पनीको संलग्नता, ५० करोडभन्दा बढीको लगानी
सडक निर्माणको जिम्मा लुम्बिनी अर्घाखाँची बाबु जेबीले २०७७ सालमा २६ करोड ३८ लाखको लागतमा लिएको थियो। त्यसैगरि पुल निर्माणको ठेक्का टुली कालीगण्डकी जेबीलाई २६ करोडमा दिइएको थियो। दुबै कम्पनीले काम अन्तिम चरणमा पुर्याइसकेका छन्।
यस योजनाले मायादेवी गाउँपालिकाको भौगोलिक अन्तिम विन्दु मर्चवारलाई मुख्य सडक सञ्जालसँग जोड्नेछ। एक समय रुख कटानको झमेलाले ढिलो भएको यो योजना प्रदेश सरकारले निरन्तर अनुगमन गरेपछि तिव्र गतिमा अघि बढेको इन्जिनियर पण्डितले जानकारी दिए।
🌾 मर्चवारको तरकारी अब सिधै बुटवल बजारमा
स्थानीय राम नारायण गुप्ताले भने, “सडक बनेपछि यहाँबाट अन्य स्थानमा आवतजावत गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। कृषिमा आधारित मर्चवार अब आर्थिक गतिशीलतामा आउने छ।”
मायादेवी गाउँपालिकाका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेयका अनुसार, “सडक बनेपछि अब मर्चवारबासीलाई उपचारका लागि अस्पताल जान, तरकारी बोक्न, लुम्बिनी घुम्न वा बुटवल जान निकै सजिलो भएको छ।”
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले भने, “मर्चवारको उत्पादन अब सिधै बुटवल कृषि मन्डीमा ल्याउन सकिनेछ। किसानले राम्रो मूल्य पाउनेछन् र व्यापारीले ताजा तरकारी।”
बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले पनि बेथरी–मर्चवार सडकले दुई क्षेत्रलाई सिधा जोड्ने पुलको काम गरेको भन्दै यसको महत्व प्रष्ट्याए। “अघिसम्म मर्चवारबाट भैरहवा हुँदै बुटवल आउन निकै समय लाग्थ्यो, अब सिधै छोटो समयमै बुटवल पुग्न सकिन्छ,” उनले भने।
🛣️ अब के बाँकी?
हाल पुलमा रंगरोगन र अन्तिम साइनबोर्ड जडानको काम मात्रै बाँकी रहेको जानकारी दिँदै, सडक पूर्वाधार कार्यालय रुपन्देहीले आगामी दिनमा मर्मत र रेखदेखको जिम्मा समेत लिनेसमेत बताएका छन्।
Leave a Reply