📍 काठमाडौँ, Mews Khabar | मङ्गलवार, २३ वैशाख २०८२
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा उत्पन्न विवाद तत्काल समाधान गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले स्पष्ट निर्देशन दिएका छन्।
मन्त्री खड्काले आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर प्रसारण लाइन विस्तारमा देखिएको समस्या यथाशीघ्र समाधान गर्न निर्देशन दिँदै विकास परियोजनाहरूले आम जनताको जीवनमा असर नपार्नुपर्नेमा जोड दिए। “स्थानीयवासीले राखेका जायज मागहरूको यथोचित सम्बोधन गरेर कामलाई अगाडि बढाउनुहोस्, विकासको नाममा कसैको जीवनमा अन्याय हुनु हुँदैन,” मन्त्री खड्काको भनाइ थियो।
स्थानीय अवरोधले ढिलाइ
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ स्थित बानियाभार क्षेत्रमा तीनवटा विद्युत् टावर निर्माण रोकिएको छ। स्थानीय बासिन्दाको अवरोधका कारण आयोजना ढिलिएको आयोजनाका प्रमुख चौधरीले मन्त्रीसमक्ष जानकारी गराएका थिए। स्थानीयहरू compensation र पुनर्स्थापनाको सुनिश्चितता बिना आफ्नो जग्गामा विद्युत संरचना निर्माण गर्न दिन मानेका छैनन्।
२०७७ मा सम्झौता, अझै अधुरो काम
वि.सं. २०७७ भदौ ७ गते सम्झौता भएको सो प्रसारण लाइनको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर स्थानीय अवरोध र व्यवस्थापकीय समन्वयको अभावले काम निर्धारित समयमै सम्पन्न हुन सकेको छैन।
मन्त्रीको निर्देशन: ‘पीडितलाई न्याय मिल्नैपर्छ’
उर्जामन्त्रीले आयोजना अन्तर्गत परेका घर, जग्गा र संरचनालाई उचित क्षतिपूर्ति प्रदान गर्दै पुनर्स्थापनाको ग्यारेन्टी गर्न पनि निर्देशन दिए। “विकासको काम रोकिनु हुँदैन, तर त्यो विकास पीडितमैत्री हुनुपर्छ,” उनले भने।
यस विवादको समाधानपछि प्रसारण लाइन निर्माण पुनः गति लिने अपेक्षा गरिएको छ
Leave a Reply