— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा धारिलो शैलीमा बोल्दै अध्यक्ष यादवले यो नीति तथा कार्यक्रमको “कुनै औचित्य छैन” भन्दै संसदमै तीव्र आलोचना गरे।
उनको भनाइमा, नीति तथा कार्यक्रम साँचो अर्थमा जनमुखी नभई केवल “कर्मकाण्डी अभ्यास” बनिसकेको छ। “राजा, महाराजाको पालादेखि सुरु भएको चलनलाई अहिले कमरेडहरूले पनि निरन्तरता दिँदै छन्,” भन्दै यादवले कटाक्ष गरे, “यो अब किताब बाँड्ने र टिका टिप्पणीको औपचारिकता मात्रै बनिरहेको छ।”
नीतिगत दृष्टिकोणले समाजवाद उन्मुख भन्ने दाबी भए पनि वास्तविकता भने नवउदारवादतर्फ डोहोरिरहेको उनले आरोप लगाए। “समष्टिगत रूपमा नीति तथा कार्यक्रम पढ्दा यसको उद्देश्य नवउदारवादतर्फ उन्मुख छ, जुन समाजवादसँग पूर्णतः विरोधाभासी हो,” उनले भने।
अध्यक्ष यादवले थपे, “यदि साँच्चिकै समाजवाद उन्मुख नीति ल्याइएको हो भने त्यसमा उपभोक्ता, किसान, मजदुर, मधेसी, आदिवासी जनजाति, दलित, महिला, विपन्न वर्गहरूको हक र अधिकारलाई केन्द्रमा राखिनु पर्ने हो। तर अहिलेको दस्तावेजमा तिनीहरूको पक्षमा ठोस योजना देखिन्न।”
उनका अनुसार यस्तो दस्तावेजले न जनताको भावना समेट्न सक्छ, न त देशको आर्थिक संकट समाधान गर्न कुनै ठोस दिशा दिन सक्छ। उनले सरकारले देखाउने भनिएको समाजवादको सपना केवल शब्दजाल मात्र भएको दाबी गरे।
संसदमा अध्यक्ष यादवको यो वक्तव्यसँगै नीति तथा कार्यक्रमप्रति संसदमा नै व्यापक बहसको वातावरण बनेको छ।
Leave a Reply