एमाले धनुषा अधिवेशनमा झडप, पाँच जना घाइते

२३ वैशाख, जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा पार्टीका नेतासहित कार्यकर्ताहरू चोटग्रस्त भएका छन्।

घटनामा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास गम्भीर घाइते भएका छन्, दुबैको टाउको फुटेको छ। विवाद अन्तिम नामावली प्रकाशनका क्रममा उत्पन्न भएको बताइएको छ। त्यसक्रममा कुर्सी हानाहानसमेत भएको थियो।

गत २० गतेदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा प्रवेश गरिएको हो। अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन्। सोमबार राति मनोनयन दर्ता सम्पन्न भएको थियो तर अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद चर्किएको हो।

अन्य उम्मेदवारहरूमा उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव, सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डल, उपसचिवमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव रहेका छन्। महिलातर्फ उपसचिवमा किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवारी दिएका छन्।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुने भनिएको छ। आज बिहान साढे ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि उम्मेदवार नामावलीको विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको छैन।

भोला यादव पक्ष तत्काल मतदान सुरु गर्न माग गर्दै छ भने लक्ष्मीनारायण यादव पक्षले त्यसको विरोध गरिरहेको छ। निर्वाचन समितिमा दबाब बढ्दो छ भने वातावरण तनावग्रस्त रहेको बताइएको छ