जीवन कहिले बदलिन्छ भनेर भन्न सकिँदैन भन्ने कुराको ज्युँदो उदाहरण हुन् भारतीय आप्रवासी थजुदीन अलियार कुन्जु, जसले साउदी अरेबियामा ४० वर्षसम्म पसिना बगाए र जब उनी रित्तो हात घर फर्किन लागिरहेका थिए, त्यही बेला ९१ करोड रुपैयाँ बराबरको बिग टिकट ज्याकपट जिते।
केरलाको तिरुवनन्तपुरमका बासिन्दा ६१ वर्षीय अलियारले दुबईको अबुधाबीमा आयोजना गरिएको बिग टिकट राफल जितेका हुन्। उनले पाँचौं प्रयासमा यो भाग्यशाली टिकट जितेका थिए। यसै महिनामा उनी साउदीबाट भारत फर्किने तयारीमा थिए। उनले भने, “म खाली हात फर्किन लागेको थिएँ, तर भगवानले ठूलो तोहफा दिए।”
अलियार अहिले करीब ९१ करोड नेपाली रुपैयाँ लिएर घर फर्किन लागेका छन्। यति ठूलो रकम पाएपछि पनि उनी केवल आफूका लागि हैन, आफ्नो १६ जनाको समूहका लागि पनि चिन्तित छन्। यही समूहसँग मिलेर उनले टिकट किन्ने काम गरेका थिए। उनले भने, “अब यो रकमले १६ परिवारको भविष्य सुरक्षित बनाउनेछ।”
तीन छोरीका पिता अलियार साउदीको हेल सहरमा बसेका थिए र विगतमा फार्ममा काम गर्दै सुरु गरेर अहिले वाटरप्रुफिङ र यातायात व्यवसाय गर्दै आएका थिए। अब उनले केरलामै नयाँ व्यवसाय सुरु गर्ने योजना बनाएका छन्।
सबैभन्दा मन छुने कुरा चाहिँ उनले जितेको रकम दान गर्ने निर्णय पनि गरेका छन्। यस्तो उदारता र संघर्षले भरिएको जीवन कथाले अहिले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ।
Leave a Reply