सनराइजर्सको प्लेअफ यात्रा सकियो, कोच भेट्टोरीले घरेलु मैदानलाई ठहराए दोषी

इन्डियन प्रिमियर लिग (IPL) 2025 बाट सनराइजर्स हैदराबाद बाहिरिएपछि टिमका प्रमुख प्रशिक्षक ड्यानियल भेट्टोरीले घरेलु मैदानकै पिचलाई हारको प्रमुख कारण बताएका छन्। उनले यस वर्षको हैदराबादको स्लो ट्र्याकले आक्रामक ब्याट्सम्यानहरूलाई खेल्न गाह्रो बनाएको बताए।

२०१६ को च्याम्पियन सनराइजर्स हैदराबाद सोमबार डेल्ही क्यापिटल्ससँगको खेल वर्षाका कारण रद्द भएपछि प्लेअफ दौडबाट बाहिरिएको तेस्रो टिम बन्यो। यसअघि राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतियोगिताबाट बाहिरिइसकेका थिए।

यो सिजन हैदराबादले कुल ११ मध्ये केवल ३ खेल मात्र जित्न सफल भयो, र त्यसमा पनि घरमै खेलेका ६ खेलमध्ये दुई मात्र आफ्नो पक्षमा पार्न सके।

“यसपालि हामीले जस्तो सोचेका थियौं, त्यसरी पिचले साथ दिएन,” भेट्टोरीले पत्रकार सम्मेलनमा भने, “गत वर्ष यहाँ धेरै उच्च स्कोरिङ खेलहरू देखिएका थिए। तर यसपालि स्थिति फरक रह्यो – पिच ढिलो थियो, जसले ब्याट्सम्यानलाई खुला खेल्न दिएन।”

सांख्यिकीय रूपमा पनि यस कुरा पुष्टि हुन्छ। गत वर्ष १२ इनिङमा ७ पटक २०० प्लस स्कोर बनेको भए पनि यो वर्ष ११ इनिङमा मात्र ४ पटक यस्तो स्कोर देखिएको छ।

यी ढिलो पिचले आक्रामक शैलीका खेलाडीहरू – अभिषेक शर्मा, ट्र्याविस हेड र ईशान किशनजस्ता ब्याट्सम्यानलाई आफ्नो लयमा खेल्न दिइएन।

“हामीले बारम्बार भन्यौं, खेलको परिस्थिति बुझ्न आवश्यक छ। खेल पढ्न र आवश्यक निर्णय लिन सक्नुपर्छ,” भेट्टोरीले भने। “हाम्रा खेलाडीहरू स्वभाविक रूपमा आक्रामक छन्, तर यो सिजन उनीहरूलाई परिस्थितिअनुसार तालमेल गर्नुपर्ने भयो।”

सोमबार डेल्हीसँगको अन्तिम घरेलु खेलमा कप्तान प्याट कमिन्सले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट झारेर डेल्हीलाई १३३–७ मा सीमित गरेका थिए। तर दुर्भाग्यवश, हैदराबादको इनिङ सुरु हुनुअघि नै वर्षा सुरु भयो र अन्ततः खेल नै रद्द भयो।

अब हैदराबादको आईपीएल २०२५ को यात्रामा विराम लागेको छ, र प्रशिक्षक भेट्टोरीले मैदान, मौसम र परिस्थितिको मूल्याङ्कन गर्दै आगामी सिजनका लागि रणनीति फेरबदल गर्नुपर्ने संकेत दिएका छन्।