जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

हेटौंडा — हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडीको खोजीमा खानी तथा भूगर्भ विभागको टोली पुनः सक्रिय भएको छ। ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी जमिन भासिएर बेपत्ता भएपछि गम्भीर अध्ययन थालिएको हो।

भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डे सहित चार सदस्यीय टोलीले प्रोटोन म्याग्नेटोमिटर र ड्रिलिङ प्रविधिको प्रयोग गर्दै गाडी रहेको सम्भावित स्थान पहिचान गर्ने प्रयास गरिरहेको छ। मंगलबार साँझ टोलीले गाडीको लोकेसन पत्ता लगाएको थियो। उक्त स्थानमा ड्रिल गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटर भन्दा तल जान नसकेपछि त्यहीँ गाडी हुन सक्ने अनुमान गरिएको छ।

टोली सदस्य अधिकारीका अनुसार तीनवटा ड्रिलिङमध्ये एक स्थानमा रड सजिलै ८ मिटर सम्म गएको थियो भने अन्य दुई स्थानमा ६ मिटरमै रोकिएको थियो। यसै आधारमा ती दुई स्थानमध्ये कुनै एकमा गाडी हुन सक्ने आशंका गरिएको छ।

प्रोटोन म्याग्नेटोमिटरको प्रयोग गर्दा सो क्षेत्रमा अन्य भागको तुलनामा चुम्बकीय संकेत बढी देखिएको थियो। यही संकेतका आधारमा ड्रिलिङ गरिएको हो। भूगर्भविद पाण्डेले उक्त स्थानको केही पूर्वतर्फ ठुलो चुम्बकीय क्षेत्र देखिएको र त्यसले गाडी त्यहीँ भएको सम्भावना देखाएको बताए।

बुधबार पनि अन्य सम्भावित स्थानमा ड्रिलिङ गरिने र घटनास्थल वरपरको भू बनोट तथा भूमिगत जलस्रोतको समेत अध्ययन गरिने बताइएको छ।

यो घटना भएको स्थानमा सडक निर्माणको गुणस्तर, भौगोलिक बनावट, तथा पानीको बहाव जस्ता विषयमा पनि थप अध्ययन आवश्यक देखिएको भूगर्भशास्त्रीहरू बताउँछन्। यतिबेला स्थानीय बासिन्दा समेत यस घटनालाई लिएर चिन्तित छन्।

बोलेरो गाडी एक्कासी जमिनमा भासिनुजस्तो घटना सामान्य नभएको र यसले भविष्यमा यस्तै अन्य घटनाको जोखिम संकेत गर्ने सम्भावना भएको जनाइएको छ। टोलीले खोजी कार्य अन्तिम चरणमा पुगेको बताएको छ।